काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा रसुवाको भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका विषयमा छलफल गरेका छन्।
नेपालका प्राथमिकताका क्षेत्रमा करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा समेत छलफल भएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ।
भेटमा विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालमा पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिएका छन्।
त्यस्तै, एसियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) लगायतका विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न नयाँ पहल गर्ने जानकारी पनि बाङ्गाले दिएका छन्।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार तीन दशकपछि विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।