भोटेकोसी बाढीपीडितका लागि अस्थायी आवास बनाउँदै सरकार

राजनीति


भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट घरबारविहीन बनेका रसुवा र नुवाकोटका नागरिकलाई अस्थायी आवासमा सार्ने प्रक्रिया सरकारले अघि बढाएको छ।

बाढीपछि विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेका प्रभावितलाई स्थानान्तरण गर्न सरकारले प्रि–फ्याब प्रविधिबाट अस्थायी आवास निर्माण गर्ने तयारी गरेको हो।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ७ हजार ५७० निजी आवासमा क्षति पुगेको प्रारम्भिक विवरण छ। विद्यालय तथा सामुदायिक भवनमा मात्रै करिब ३ हजार ४५० विस्थापित आश्रय लिएर बसेका छन्।

विद्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने भएकाले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न तीन साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ।

यसअघि रसुवा र नुवाकोटमा बाढी प्रभावितका लागि २६ वटा अस्थायी आश्रयस्थल तथा राहत केन्द्र सञ्चालनमा ल्याइएको थियो।
स्थायी पुनर्वासका लागि भने सुरक्षित स्थान पहिचान र नयाँ बस्ती निर्माणको प्रक्रिया अझै चुनौतीपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।