धुन्चेमा अलपत्र परेकाको उद्धार सुरु, घर पठाउन थालियो

समाचार

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको धुन्चेमा अलपत्र परेका नागरिकको खोजी तथा उद्धार गरी उनीहरूलाई घर पठाउने काम सुरु गरिएको छ।

गत बुधबार आएको बाढीका कारण विभिन्न जिल्लाबाट रसुवा पुगेका यात्रु तथा अन्य नागरिक धुन्चे क्षेत्रमा अलपत्र परेका थिए। बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि उनीहरू घर फर्किन सकेका थिएनन्।

बागमती प्रदेश सरकारले अलपत्र नागरिकको खोजी गरी सुरक्षित रूपमा उद्धार गर्ने र उनीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाउने काम अघि बढाएको जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार बुधबार दिउँसो ३ बजेदेखि नै अलपत्र परेकाहरूको खोजी सुरु गरी उनीहरूलाई आ–आफ्नो जिल्लातर्फ पठाउने काम थालिएको हो।

भोटेकोशी बाढीपछि रसुवामा खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको छ। सडकमार्ग अवरुद्ध रहेकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हवाई साधनसमेत परिचालन गरिएको छ।