सर्लाही । वडा सदस्यको नक्कली हस्ताक्षर प्रयोग गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।
प्रहरीका अनुसार रायलाई बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो।
घटना २०८० असार १० गतेको हो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।