काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। बुधबार सुनको मूल्य एकै दिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
पछिल्लो गिरावटसँगै तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य अहिलेसम्म २३ हजार ४०० रुपैयाँले घटिसकेको छ।
सुनको मूल्यमा आएको यो ठूलो गिरावटले उपभोक्तालाई राहत मिल्ने देखिए पनि बजारमा यसको थप उतारचढाव कस्तो हुन्छ भन्ने चासो बढेको छ।