मलेसिया रोजगारीको ‘सिण्डिकेट’ विरुद्ध महिला व्यवसायीको आक्रोश
मलेसियाको रोजगारीमा ‘सिण्डिकेट’ भित्र्याउन सक्रिय रहेको आरोप लागेका २५ व्यवसायीको तस्बिरमा कालो मसी खन्याउँदै र जुत्ता प्रहार गर्दैमहिला व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्।
बिहीबार काठमाडौंको सिफलस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा भेला भएका व्यवसायीहरूले नाराबाजी गर्दै सीमित व्यवसायीलाई मात्र मलेसियाली रोजगारीमा अवसर दिने व्यवस्था खारेज गर्न माग गरेका छन्।
मलेसियाको FWCMS मा नेपालका २५ म्यानपावर कम्पनी प्राथमिक एजेन्सीका रूपमा सूचीकृत भएपछि विवाद चर्किएको हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सबै व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण हुनुपर्ने माग गर्दै आएको छ।
यसैबीच, वैदेशिक रोजगार विभागले FWCMS अन्तर्गत छनोट भएका २५० सहायक एजेन्सीलाई समेत छनोट प्रक्रिया र मापदण्डबारे सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।