डीडीसीलाई १२ करोडभन्दा बढी हानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

अपराध


काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह बनाएर संगठित सञ्जालका रूपमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक हानी पुर्‍याएको खुलेको छ।

पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक झासहित विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जीतेन्द्रकुमार यादव, नवीनराय यादव, शिवनन्दन राय र वीखबहादुर भण्डारी रहेका छन्।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।