पक्राउ परेका सबै पत्रकार रिहा, सञ्चारमन्त्रीले भने– प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ

राजनीति


काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू रिहा भएका छन्।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी टोली कार्यालयमै पुगेको थियो। तर, सम्पादक खगेन्द्र पन्त र पत्रकार मैनालीलाई शनिबार बिहान साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै प्रहरी टोली फर्किएको थियो।
यस घटनाप्रति प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको छ।