काठमाडौं, ३० अक्टोबर (शुक्रबार) पत्रकार तथा सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको विषयलाई लिएर नेपाल प्रहरी र प्रधानमन्त्री कार्यालयको भनाइ फरक देखिएको छ।
नेपाल प्रहरीले शुक्रबार मध्यराति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रहरीबारे प्रकाशित भएका भनिएका गलत समाचार र सन्देशको सत्यता, तथ्य तथा कानुनी आधारबारे जानकारी लिन उनीहरूलाई बोलाइएको हो।
तर प्रधानमन्त्रीको सचिवालयले भने यस घटनामा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेको छ।
प्रहरीले आफ्नो कार्य प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।
प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको भनाइ र सचिवालयको खण्डनले यो घटनालाई थप विवादित बनाएको छ

यस्तो छ प्रहरीको वक्तव्य:
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो।
यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ।