डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयू उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना

समाचार

धनगढी, साउन ९ – २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।

शनिबार बिहान अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले अनशनस्थलमै स्वास्थ्य परीक्षण गर्दा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका थिए।

चिकित्सकीय सल्लाहअनुसार उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको हो। उनका सहयोगी अमृत जैशीका अनुसार लामो अनशनका कारण मांसपेशी बाउडिने, बोल्न कठिन हुने, हिँडडुल गर्न नसक्ने तथा शौचालयसम्म जानसमेत समस्या हुने अवस्था सिर्जना भएको छ।

डा. केसी बिहीबारदेखि विभिन्न पाँचबुँदे माग राख्दै धनगढीको कृष्ण मन्दिर धर्मशालामा सत्याग्रहमा बसेका हुन्। उनले ती मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको पढाइ सुरु गर्न तथा उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने अडानसमेत राखेका छन्।

उता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका मागप्रति सकारात्मक रहेको बताएका छन्। मन्त्री पोखरेलले वार्ता टोली गठन गरी आवश्यक परे स्वयं धनगढी पुगेर संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेको केसी पक्षले जनाएको छ।