काठमाडौं, साउन २१ — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर ‘युक्त’ गुरुङको पार्थिव शरीर बिहीबार काठमाडौं ल्याइएको छ। कतार एयरवेजमार्फत पाकिस्तानबाट दोहा हुँदै ल्याइएको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारी, पर्वतारोहण क्षेत्रका प्रतिनिधि, परिवारजन तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
विमानस्थलबाट नेपाल प्रहरीले शवलाई सुरक्षा स्कर्टिङसहित नेपाल पर्वतारोहण संघ (एनएमए) को नागपोखरीस्थित सचिवालय पुर्याएको थियो। त्यहाँ आयोजित श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय झण्डा तथा एनएमएको झण्डा ओढाएर गुरुङप्रति सम्मान प्रकट गरिएको थियो।
१० पटक सगरमाथा आरोहण गरिसकेका तथा आईएफएमजीए प्रमाणित माउन्टेन गाइड गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्षसमेत थिए। उनको निधनले नेपालको पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै पर्वतारोहण समुदायले गहिरो दुःख व्यक्त गरेको छ।
श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई परिवारले काभ्रेस्थली लगेको छ। परिवारका अनुसार शुक्रबार बिहान ९ बजे स्वयम्भूनाथमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिनेछ।
यता, ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पाँच आरोहीको शव पनि हेलिकोप्टरमार्फत आधार शिविरबाट स्कार्दु पुर्याइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ। साथै, दुर्घटनाप्रति विश्वका विभिन्न पर्वतारोहण संस्थाहरूले नेपाल पर्वतारोहण संघमार्फत समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ।