जंगलमा हराएका साढे २ वर्षका बालक दुई दिनपछि सकुशल फेला

समाचार

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरमा जंगलमा हराएका साढे २ वर्षका बालक दुई दिनपछि सकुशल फेला परेका छन्।

मंगलबार बिहान हजुरआमासँग च्याउ टिप्न जंगल पुगेका सिवान तामाङ बाटो बिराएर हराएका थिए। सुरक्षाकर्मी र स्थानीयवासीको निरन्तर खोजीपछि बिहीबार बिहान घरबाट करिब १.५ किलोमिटर टाढा जंगलको झाडीमा उनलाई जीवितै फेला पारिएको हो।

बालकको गालामा सामान्य चोटबाहेक अन्य चोटपटक नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ।