काठमाडौं, असार ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संसद्मा बोल्दै मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको प्रसङ्ग उठाएका छन्। उनले उक्त घटनालाई राजनीतिक वा जातीय रङ दिन खोजिएको भन्दै आपत्ति जनाए।
सुनारले आफूहरू सङ्घर्षबाट राजनीतिमा आएको उल्लेख गर्दै दलित समुदायको अधिकारका लागि आवश्यक पर्दा विद्रोह, विरोध र सङ्घर्ष गर्न कसैले सिकाइरहनु नपर्ने बताए।
उनले संसद्मा रुकुम सोती घटना, अङ्गिरा पासी, अजित मिजार, सङ्गीता परियार, सम्झना कामी, अस्मिता सार्कीलगायत दलित समुदायमाथि भएका हत्या तथा हिंसाका घटनाहरू स्मरण गर्दै यस्ता घटनाको शृङ्खला अझै नरोकिएको बताए। दलितमाथिको हिंसा अन्त्य गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
सुनारले बालेन शाहविरुद्ध सडकमा विरोध गर्ने राजनीतिक दल र अभियन्ताहरूलाई प्रश्न गर्दै विगतमा आफ्नै दलका नेता गृहमन्त्री रहेका बेला दलितमाथि भएका हत्याका घटनामा किन मौन बसेको भनेर प्रश्न गरे।
देशका करिब ६० लाख दलित समुदायको प्रतिनिधित्व गर्दै संसद्मा आएको उल्लेख गर्दै उनले दलित अधिकारको मुद्दाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपालगायत सबै राजनीतिक दलका सांसदलाई जातीय विभेद, उत्पीडन र हिंसाविरुद्ध एकजुट हुन उनले आग्रह गरे।