जापानमा नेपाली बहु सांस्कृतिक केन्द्रका लागि ‘टोकियो सप्ताह’

प्रवास

काठमाडौँ, कात्तिक ५ गते । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि नोभेम्वर ८ देखि १५ सम्म ‘टोकियो सप्ताह’ आयोजना हुने भएको छ। एनआरएनए जापानको आयोजना र विभिन्न संस्थाको सहकार्यमा हुने यस सप्ताहव्यापी महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नेछन्।

एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेका अनुसार कार्यक्रममा नेपाली एकता, मेलमिलाप र सांस्कृतिक पहिचान सुदृढ गर्नका साथै केन्द्र निर्माणका लागि स्रोत संकलनको उद्देश्य रहेको छ।

पूर्वअध्यक्ष नविन निउरेका अनुसार चिवा केनमा जमिन खरिद भइसकेकाले भवन निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो। सप्ताह ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु हुने र पूजापाठ, प्रवचन, भजन–कीर्तन लगायत कार्यक्रम सञ्चालन हुने जनाइएको छ।