पच्चिस उद्योगको विद्युत् सेवा बन्द

पच्चिस उद्योगको विद्युत् सेवा बन्द

बिजनेस

काठमाडौँ, कात्तिक ९ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने २५ उद्योगको विद्युत् आपूर्ति स्थगित गरेको छ । प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न २१ कार्य दिनको समयसहित पूर्वसूचना दिए पनि सो अवधिभित्र सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको हो ।

गत मङ्गलबार प्राधिकरणले पहिलो चरणमा ६ ठूला उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको विद्युत् आपूर्ति रोकिएको हो ।

शुक्रबार काटिएका उद्योगमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी अटोमेटेड फ्याक्ट्री, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरल्स एन्ड आयल्स र निगाले सिमेन्ट रहेका छन् । एभरेस्ट पेपर मिल्सको बिजुली त भने यसअघि नै महसुल नतिरेकाले काटिएको थियो ।

यसअघि काटिएका उद्योगहरूमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्, जसको मात्रै करिब चार अर्ब ३० करोड रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, सञ्चालक समितिको निर्णयअनुसार डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम किस्तामा असुल गर्न सुरु गरिएको हो । “धेरै उद्योगले किस्ताबन्दी सुविधा लिएर भुक्तानी सुरु गरेका छन्, तर नतिर्नेहरूको लाइन काटिएको हो,” उहाँले भन्नुभयो ।

असोज १२ गते सार्वजनिक सूचना जारी गरी किस्ताबन्दीमा रकम तिर्न आह्वान गरिए पनि केही उद्योगले अदालती अन्तरिम आदेश लिएकाले उनीहरूको बिजुली नकटाइएको प्रवक्ता ढकालले स्पष्ट पार्नुभयो । सरकारी स्वामित्वका हेटौँडा र उदयपुर सिमेन्टले भुक्तानीको प्रतिबद्धता जनाएका कारण हाल लाइन काटिएको छैन ।

तेह्र उद्योगले किस्ताबन्दी सुविधा लिएका छन् । हुलास स्टिलले १४ करोड रुपैयाँभन्दा बढी बक्यौतामध्ये पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ भने सिमरास्थित अशोक स्टिल्सले पहिलो किस्तामा ६३ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।