बेलायतबाट कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान

बेलायतबाट कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान

साहित्य

काठमाडौँ, कार्तिक २ गते । नेपाली कवि जसराज किरातीलाई बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ बाट सम्मानित गर्ने भएको छ।

प्रतिष्ठानले आइतबार जारी गरेको विज्ञप्तिमा कवि किरातीको नेपाली कवितामा ग्रामीण जीवन, भाषिक सौन्दर्य र आधुनिक चेतनाको सफल संयोजनका लागि यो सम्मान प्रदान गर्न लागिएको उल्लेख गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, किरातीले गाउँले बिम्ब र जनजीवनलाई आधुनिक कविता–शैलीमा प्रस्तुत गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योगदान दिएका छन्।

सम्मान अन्तर्गत उनलाई नगद एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्ला प्रदान गरिनेछ।

नेपाली प्रतिभा प्रतिष्ठानका अनुसार यो सम्मान हरेक वर्ष प्रदान गरिँदैन; साहित्य, कला वा सिर्जनामा विशेष योगदान पुर्‍याउने स्रष्टालाई मात्र दिइन्छ। यसअघि यो सम्मान महाकवि वैरागी काइँला (तिलविक्रम नेम्बाङ) ले प्राप्त गरेका थिए।

त्यसैगरी, प्रतिष्ठानले युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ बाट पनि सम्मानित गर्ने निर्णय गरेको छ। यो पुरस्कारका माध्यमबाट प्रतिष्ठानले हरेक वर्ष भाषा, साहित्य, संगीत र कलामा सक्रिय नयाँ पुस्ताका स्रष्टालाई प्रोत्साहन गर्दै आएको छ।

सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले विगत दुई दशकदेखि नेपाली स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै आएको छ। यसअघि उक्त संस्थाले ईश्वर मानन्धर, अम्बर गुरुङ, गोपाल पराजुली, डा. कृष्णहरि बराल र गणेश रसिकलगायतलाई सम्मानित गरिसकेको छ।

त्यस्तै, ‘प्रतिभा पुरस्कार’ बाट श्रवण मुकारुङ, उपेन्द्र सुब्बा, मोमिला जोशी र फुलमान बललगायतका स्रष्टा सम्मानित भइसकेका छन्।

प्रतिष्ठानको हालको कार्यसमिति यसप्रकार छ —
उपाध्यक्ष: मिजास तेम्बे र देवेन्द्र खेरेस
सचिव: अञ्जु अञ्जली
कोषाध्यक्ष: निर्मला परिवेश राई