बेलायत । स्कटल्याण्डको एडिनबरगस्थित लिथ क्षेत्रमा रहेको हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चर आर्थिक संकटमा परेपछि बेलायतमा बसोबास गर्ने नेपाली समुदाय एकजुट भएर यसको संरक्षणमा जुटेको छ।
नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उक्त केन्द्र विभिन्न कारणले अस्तित्व संकटमा पर्दै गएको हो। करिब ७ लाख पाउन्ड मूल्यको यस सांस्कृतिक केन्द्र लिलाम हुने जोखिम बढेपछि, त्यसलाई जोगाउने उद्देश्यसहित राष्ट्रव्यापी अभियान सुरु गरिएको छ। नयाँ अध्यक्ष मनिष खत्रीको नेतृत्वमा गठित बोर्डले भवन सुरक्षित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
बोर्डले कुल २ लाख ५० हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १ लाख ७० हजार पाउन्डभन्दा बढी रकम जुटिसकेको छ। बैंकको मासिक किस्ता पनि नियमित रूपमा तिरिँदै आएको छ। केन्द्रको दीर्घकालीन भविष्य सुनिश्चित गर्न अझै ६७ हजार ४ सय २५ पाउन्ड आवश्यक रहेको बोर्डले जनाएको छ।
यस अभियानमा अध्यक्ष मनिष खत्री, सचिव रिता गौतम, कोषाध्यक्ष पीटर डिप्नाराइन, निर्देशक शशी कार्की, बोर्ड सदस्यहरू राजेन्द्र बाम, कमला श्रेष्ठ र शिवा ढकाललगायतको सक्रिय भूमिका रहेको छ। साथै सल्लाहकार समिति तथा समुदायका सरोजराज जोशी, मोती खरेल, श्याम लिम्बु, मीना शर्मा लगायत थुप्रै व्यक्तिहरूको योगदान उल्लेखनीय छ।
हिमालयन सेन्टर जोगाउने अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, महासचिव दिवाकर पाण्डे, उपाध्यक्ष उज्वल कार्की, कमला श्रेष्ठ, रामप्रसाद कडेल, सचिव दयालु देवकोटा तथा नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोललगायतको व्यापक सहभागिता देखिएको थियो।
हालै सम्पन्न एक विशेष अन्तरक्रिया कार्यक्रममा १ सय ३० भन्दा बढी सहभागीहरूले केन्द्रको दीर्घकालीन समाधानका लागि विविध सुझाव प्रस्तुत गरेका थिए। यो भवन युकेभरि रहेका नेपालीहरूको साझा घरको रूपमा स्थापित छ, जहाँ नेपाली भाषा कक्षा, सांस्कृतिक नृत्य, विवाह, जन्मदिनदेखि विभिन्न पर्व–उत्सवहरू आयोजना हुँदै आएका छन्। यसले समुदायको भावनात्मक सम्बन्ध र अपनत्वलाई स्पष्ट रूपमा देखाउँछ।
बोर्ड निर्देशक शशी कार्कीका अनुसार, “यो केन्द्र बचाउन युके मात्र नभई नेपाल र अन्य मुलुकहरूबाट पनि लगानीकर्ताहरूको चासो बढ्दै गएको छ।” दुई महिनाभित्रै संकलन अभियानले उल्लेखनीय गति लिएको छ। युकेकै ठूला नेपाली संस्थामध्ये तमुधी यूकेले केन्द्रलाई २ हजार पाउन्ड सहयोग प्रदान गरिसकेको छ।
हिमालयन सेन्टरको संरक्षण प्रयास अब साधारण आर्थिक अभियान मात्र नभई, बेलायतमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचान, इतिहास र विरासतप्रतिको साझा प्रतिबद्धताको प्रतीक बनेको छ। एडिनबरगस्थित यो एउटा घर जोगाउने अभियानले युकेभर फैलिएको नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्दै समृद्ध र एकताबद्ध सांस्कृतिक भविष्यतर्फ अघि बढाएको छ।