प्रेम मानव जीवनको सबैभन्दा कोमल र शक्तिशाली अनुभूति हो । समय, समाज र सोचसँगै प्रेमको अभिव्यक्ति बदलिँदै गएको छ, तर यसको मूल भावना भने सधैं उस्तै रहन्छ समर्पण, विश्वास र समझदारी । आजको बदलिँदो समाजमा प्रेम केवल भावना मात्र नभई जिम्मेवारी र परिपक्वताको परिचायक बनेको छ ।
पहिले प्रेम मौन हुन्थ्यो । नजर, व्यवहार र त्यागमै प्रेम अभिव्यक्त हुन्थ्यो । शब्द कम हुन्थे, धैर्य धेरै हुन्थ्यो । समय कम भए पनि सम्बन्धमा गहिराइ हुन्थ्यो । आज प्रेम खुला छ, बोलिन्छ, देखाइन्छ, सामाजिक सञ्जालमा प्रस्तुत गरिन्छ । तर कतिपय अवस्थामा देखाउने प्रेम बढे पनि निभाउने प्रेम कमजोर हुँदै गएको अनुभूति हुन्छ ।
आधुनिक जीवनशैली, व्यस्तता र व्यक्तिगत महत्वाकांक्षाले प्रेमको स्वरूप परिवर्तन गरेको छ । प्रेममा समानता, आत्मसम्मान र स्वतन्त्रताको खोज बढेको छ, जुन सकारात्मक पक्ष हो । तर यससँगै सहनशीलता, धैर्य र समर्पण जस्ता गुणहरू क्रमशः हराउँदै गएका छन् । प्रेम तत्काल चाहिने, तत्कालै निर्णय गरिने विषय बनेको छ, जसले सम्बन्धलाई कमजोर बनाउने जोखिम बोकेको छ ।
साँचो प्रेम समयसँगै परिपक्व हुँदै जान्छ । प्रेम भनेको सधैं सहमत हुनु होइन, असहमत हुँदा पनि साथ छोड्न नजानु हो । प्रेम भनेको केवल खुशीमा सँगै हुनु होइन, कठिन समयमा पनि विश्वासको हात नछोड्नु हो । समय बदलिए पनि प्रेमको आधार भने सधैं सम्मान, संवाद र जिम्मेवारी नै हुनुपर्छ ।
आजको समाजमा प्रेमलाई अधिकारसँग जोडेर मात्र हेर्ने प्रवृत्ति बढ्दै गएको छ । तर प्रेम अधिकारभन्दा बढी कर्तव्य हो । अर्काको भावना बुझ्ने, उसको कमजोरी स्वीकार गर्ने र उसको अस्तित्वलाई सम्मान गर्ने कला नै प्रेम हो । जहाँ सम्मान छैन, त्यहाँ प्रेम दीर्घकालीन हुन सक्दैन ।
समयसँगै प्रेमको भाषा, माध्यम र अभिव्यक्ति बदलिन सक्छ । तर प्रेम टिकाइराख्ने तत्व भने कहिल्यै बदलिँदैन—विश्वास, इमानदारी र समझदारी । प्रेम देखाउने होइन, निभाउने कुरा हो । आजको पुस्ताले प्रेमलाई सजावट होइन, साधना बनाउने हो भने मात्र प्रेम समयसँगै झन् गहिरो र सुन्दर बन्दै जान्छ ।
प्रेम कुनै क्षणिक आकर्षण होइन, यो निरन्तर अभ्यास हो । बदलिँदो समयसँगै प्रेमलाई पनि परिपक्व बनाउँदै लैजान सकियो भने, प्रेम सम्बन्ध मात्र होइन, समाज पनि सुन्दर बन्न सक्छ । ✍️ स्वस्तिका माझी .