जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सात दिने उपस्थितिको सूचना

राजनीति

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति Sher Bahadur Deubaका छोरा Jaybir Singh Deubaमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अघि बढाएको छ।

विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै जयवीर सिंह देउवालाई सूचना प्रकाशित भएको मितिबाट बाटोको म्यादबाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागका अनुसार डडेलधुरा जिल्ला, साविक आसिग्राम गाविस–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्दै आएका ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम बयान तथा आवश्यक सोधपुछका लागि उपस्थित हुन भनिएको छ।

स्रोतका अनुसार जयवीरमाथि शंकास्पद स्रोतबाट आर्जित रकम विभिन्न क्षेत्रमा लगानी गरिएको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो। उनका नाममा रहेका केही व्यावसायिक कम्पनी र ती कम्पनीमा भएको लगानीको स्रोत स्पष्ट नखुलेपछि अनुसन्धानलाई तीव्र बनाइएको बताइएको छ।

यस्तै, विवादास्पद व्यवसायी Dipak Bhattसँग जयवीरको व्यावसायिक सम्बन्ध रहेको विषयलाई समेत विभागले अनुसन्धानको दायरामा राखेको स्रोतको भनाइ छ। भट्ट र उनका साझेदार Sulabh Agrawal हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

विभागले यसअघि पनि जयवीरसँग सम्पर्क गर्ने प्रयास गरेको भए पनि उनी मुलुकबाहिर रहेको र सम्पर्कमा नआएका कारण सार्वजनिक सूचना जारी गर्नुपरेको स्रोतले जनाएको छ।

विभागले तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने र त्यसले थप कानुनी जटिलता निम्त्याउन सक्ने कानुनी व्यवस्था रहेको छ।