९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने प्रक्रिया अघि
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै २०८२ माघ ११ गतेदेखि लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिवसँग १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीसँग विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै सम्पर्क हुन नसकेको र अनुपस्थितिको कारणबारे कुनै जानकारीसमेत प्राप्त भएको छैन।
निजामती सेवा ऐन, २०४९ अनुसार सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका तथा सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन र खोजी कार्यलाई पनि तीव्र बनाइएको जनाएको छ।