काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको विद्युतीय कारभित्र जलेको अवस्थामा मृत फेला परेकी महिलाको परिचय खुलेको छ।
प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्।
रश्मी साउन ८ गते बिहानदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो करिब १ बजे कारको पछाडिको सिटमा उनको शव फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाको कारण खुल्न बाँकी छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।