लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले दुईतले धन्सार भत्किँदा बाबुछोरीको ज्यान गएको छ।
प्रहरीका अनुसार धन्सारमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन्।
प्रारम्भिक जानकारीअनुसार विष्णुदत्त सुवेदीको दुईतले धन्सार कुलो भत्किएर आएको पहिरोमा परेर भत्किएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।