सुनसरी घटनाबारे रवि लामिछाने: ‘विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन’

राजनीति

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी तराईका जिल्लामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने बताएका छन्।

मंगलबार जारी विज्ञप्तिमा लामिछानेले घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

लामिछानेले नेपालको सामाजिक शक्ति बहुलवाद, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावमा रहेको उल्लेख गर्दै त्यसमा खलल पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालासँग अपिल गरेका छन्। साथै, अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन आग्रह गरेका छन्।

विज्ञप्तिमा उनले सरकारसँग तत्काल शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्। पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै लामिछानेले संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका खेलिरहने बताएका छन्। साथै, घटनालाई राजनीतिक रंग नदिन सबै राजनीतिक दल र सरोकारवालासँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति तथा कार्यकर्तालाई पनि शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।