निजी अस्पतालमा कार्यरत भेटिएपछि कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय पदमुक्त

स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई पदबाट हटाएको छ।

मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. रायलाई निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको हो। सरकारी अस्पतालको नेतृत्वमा रहेका पदाधिकारीले निजी अस्पतालमा चिकित्सकीय अभ्यास गर्न नपाउने मन्त्रीस्तरीय निर्णयको उल्लंघन गरेको पुष्टि भएपछि उनलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डा. राय सरकारी अस्पतालको निर्देशकको जिम्मेवारीमा रहँदै निजी अस्पतालमा नियमित रूपमा चिकित्सकीय सेवा दिइरहेको भेटिएको थियो। यसले सरकारी अस्पतालका प्रमुखहरूले निजी अभ्यास नगर्ने सरकारी नीतिको उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको मन्त्रालयको भनाइ छ।

सरकारी अस्पतालका प्रमुख तथा नेतृत्व तहका चिकित्सकले निजी अस्पतालमा सेवा दिन नपाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी दिनमा पनि यस्ता गतिविधिमाथि निगरानी बढाइने र नीतिविपरीत कार्य गर्ने जो–कोहीमाथि आवश्यक कारबाही गरिने संकेत दिएको छ।