मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, प्रहरीद्वारा तीव्र खोजी

समाचार

पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजार निवासी २४ वर्षीय अजित जिसी२३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङमाछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रमा सम्पर्कविहीन भएका हुन्।

उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका थिए। त्यसपछि मोबाइल फोन बन्द भएपछि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। बिहान करिब ११ बजे उनीहरू हराएको सूचना प्राप्त भएसँगै खोजी अभियान सुरु गरिएको थियो।

सुरुवाती चरणमा स्थानीय होटल व्यवसायी प्रेम अधिकारीसहित चार जनाको टोली खोजीमा खटिएको थियो। त्यसपछि भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। टोलीले स्थानीय बासिन्दा र युवकका आफन्तसँग समन्वय गर्दै सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ।

यसैबीच, दिउँसो करिब २ बजे युवकहरू अन्नपूर्ण गाउँपालिका–११, छुमरुङको फेदीस्थित मोदी खोलापारि देखिएको सूचना प्राप्त भएपछि घान्द्रुक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा थप प्रहरी टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ।

समाचार तयार पार्दासम्म तीनै युवक फेला नपरेको प्रहरीले जनाएको छ। मौसम र भौगोलिक कठिनाइका बीच उनीहरूको सुरक्षित उद्धारका लागि खोजी अभियान जारी रहेको छ।

प्रहरीले पदयात्रामा निस्कने सबैलाई मौसमको अवस्था बुझेर, पर्याप्त तयारीका साथ यात्रा गर्न तथा नियमित रूपमा आफन्तसँग सम्पर्कमा रहन आग्रह गरेको छ।