काठमाडौं । नेपाली हिपहप तथा आर एन्ड बी (R&B) संगीतमा नयाँ सिर्जनाको अर्को अध्याय थपिने भएको छ। हाकिम इन्टरटेन्मेन्ट र BNB Tech Group को
संयुक्त प्रस्तुतिमा तयार भएको नयाँ गीत ‘झस्काइ दिन्छ’ शुक्रबार (साउन २२) गते सार्वजनिक हुँदैछ।
बिछोड र त्यसपछि मनभित्र चल्ने भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण गरिएको यो गीतले प्रेमको एउटा संवेदनशील
पाटोलाई संगीत मार्फत उजागर गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ। विशेषगरी R&B ट्र्याजेडी शैलीमा तयार पारिएको गीतले बिछोडपछि मनमा बाँकी रहने सम्झना, पीडा र आत्मिक संघर्षलाई शब्द र संगीतमार्फत मार्मिक रूपमा प्रस्तुत गरेको दाबी गरिएको छ।
गीतमा द रिभर्स (The Reverse), हाकिम (सुरेन्द्र गुरुङ) र त्रिजा प्रधानको स्वर रहेको छ।
भावपूर्ण गायन र संगीतप्रतिको संवेदनशील प्रस्तुतिले गीतलाई थप जीवन्त र हृदयस्पर्शी बनाएको निर्माण पक्षको विश्वास छ।
गीतको म्युजिक भिडियोमा एलिस बहादुर सिंह, अलिना कुमाल, सुहाना क्षेत्री खड्का र भेनस खवासको अभिनय रहेको छ।
भिडियोको स्टाइलिङ वासिम मलिकले गरेका छन् भने मेकअप स्वस्तिका खड्काले गरेकी छन्। संगीत संयोजन बृजेश श्रेष्ठ (Ness Studio)को रहेको छ
भने निर्देशन तथा छायांकन विवेक मगर (Fuzzy Entertainment)ले गरेका छन्।
नेपाली हिपहप संगीतमा हाकिम (सुरेन्द्र गुरुङ) स्थापित र परिचित नाम हुन्। र्याप प्रतियोगिताका निर्णायकदेखि
नयाँ पुस्ताका कलाकारका मार्गदर्शक सम्मको भूमिका निर्वाह गर्दै आएका उनी आफ्ना सिर्जनामार्फत पनि दर्शक–श्रोतामाझ लोकप्रिय छन्।
उनको चर्चित गीत चिसो चिसो को सफलतापछि द रिभर्स (The Reverse) सँगको सहकार्यमा तयार भएको झस्काइ दिन्छ’ प्रति संगीतप्रेमीको उत्सुकता बढ्दै गएको छ।
द रिभर्स (The Reverse) पोखराका हिपहपप्रेमी युवाहरूले स्थापना गरेको र्याप समूह हो।
यसको स्थापना डा. विकाश लम्साल र बुद्धि गुरुङले गरेका हुन्। पेशागत रूपमा डा. लम्साल जापानमा सूचना प्रविधि (आईटी) विषयका प्राध्यापक हुन् भने बुद्धि गुरुङ अष्ट्रेलियामा सूचना प्रविधि तथा बैंकिङ क्षेत्रमा कार्यरत छन्। विदेशमा आफ्नो व्यावसायिक यात्रा अघि बढाइरहे पनि उनीहरूले नेपाली र्याप संगीतप्रतिको लगावलाई निरन्तर सिर्जनामार्फत जीवन्त राख्दै आएका छन्। पछिल्ला दुई वर्षयता समूहले मौलिक गीत तथा म्युजिक भिडियोहरू नियमित रूपमा सार्वजनिक गर्दै आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।
निर्माण टिमका अनुसार ‘झस्काइ दिन्छ’ केवल एउटा र्याप गीत मात्र होइन, प्रेममा आउने बिछोड र त्यसले मनमा छोड्ने गहिरो घाउको सांगीतिक अभिव्यक्ति हो।
भावपूर्ण शब्द, आधुनिक R&B धुन, सशक्त गायन र आकर्षक दृश्य संयोजनले सजिएको यो गीतले नेपाली हिपहप तथा R&B संगीतका पारखी माझ विशेष स्थान बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।