धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिका पशुपती बम जोशीको मृत्यु प्रकरण रहस्यमय बनेको छ।
मृतकका माइती पक्षले पशुपतीले आत्महत्या गरेको नभई हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। उनीहरूले श्रीमान्, सासु र ससुराको भूमिकामाथि समेत प्रश्न उठाउँदै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दिएका छन्।
धनगढी उपमहानगरपालिका–५ माइतीघर भएकी पशुपती साउन २७ गते धनगढीबाट बेलौरीस्थित घर पुगेकी थिइन्। भोलिपल्ट दिउँसो करिब २ बजे घरदेखि झण्डै तीन किलोमिटर टाढाको उखुबारीमा उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ।
माइती पक्षले पशुपतीले लामो समयदेखि श्रीमान् तथा ससुराली परिवारबाट मानसिक र शारीरिक यातना भोग्दै आएको दाबी गरेको छ। फरक जातमा विवाह गरेदेखि नै पारिवारिक सम्बन्धमा तनाव रहेको र श्रीमान्ले अर्को विवाह गर्ने भन्दै धम्की दिने गरेको आफन्तको आरोप छ।
मृतकका भाइ मखन बमले शव भेटिएको अवस्थामाथि समेत प्रश्न उठाएका छन्। उनका अनुसार पशुपती बसेको जस्तो अवस्थामा झुण्डिएको र पिठ्युँमा माटो लागेको देखिएको थियो। यी परिस्थितिले मृत्यु आत्महत्यामात्रै नभएको हुन सक्ने आशंका बढाएको उनको भनाइ छ।
तर मृतकका ससुरा महारुद्र जैशीले भने घरमा कुनै विवाद वा झगडा नभएको दाबी गरेका छन्। उनका अनुसार साउन २८ गते बिहान परिवारले सँगै नास्ता गरेको थियो। त्यसपछि पशुपती घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी र केही समयपछि उनको मृत्यु भएको खबर आएको थियो।
पशुपती डोटीको बोगटान फुड्सिल गाउँपालिकास्थित विद्यालयमा शिक्षिका थिइन् भने उनका श्रीमान् हेमराज जोशी बागलुङस्थित विद्यालयमा शिक्षक हुन्। उनीहरूका दुई छोरा छन्।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन्।
माइती पक्षको हत्या आशंका र ससुराली पक्षको विवाद नभएको दाबीबीच घटनाको वास्तविकता भने प्रहरी अनुसन्धान, पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणबाट स्पष्ट हुने देखिएको छ।