प्रहरी हेडक्वार्टरमा बिचौलियाको प्रभाव रहेको खगेन्द्र सुनारको आरोप

राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको हेडक्वार्टरमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीका स्रोत–साधन तथा सामग्री खरिदमा भएका भनिएका अनियमितताबारे छानबिन हुनुपर्ने माग गरे। उनले प्रहरीको खरिद प्रक्रियासँग सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि त्यसबारे स्पष्ट जानकारी नआएको बताए।

सुनारले भने, ‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ। त्यो आयो कि आएन? फेरि यहीबीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्।’

आईजीपीमाथि आफूले उठाएका प्रश्नमा आफू अडिग रहेको पनि उनले बताए। ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।

आफ्नो अभिव्यक्तिले कसैको मानमर्दन भएको महसुस भए कानुनी बाटो रोज्न पनि उनले चुनौती दिए।

‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले भने।

तर, संसदीय समितिमा व्यक्तिगत आरोप–प्रत्यारोपको शैलीमा प्रस्तुत हुन नहुने उनको भनाइ थियो। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन। सरकारको मानमर्दन गर्न पाइँदैन,’ सुनारले भने।

सुनारको अभिव्यक्तिपछि सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग भएको विवाद थप चर्चामा आएको छ। यस विषयमा प्रहरी नेतृत्व तथा सरकारका तर्फबाट पनि असन्तुष्टि सार्वजनिक भएको छ। (Ratopati)