कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस)ले नेपाल फर्किएर न्यायका लागि गरेको प्रयास सफल हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
कट्टेलले सामाजिक सञ्जालमा लेख्दै आफू यसपटक न्याय पाउने आशासहित छोरीसँगै नेपाल फर्किएको बताएका छन्। आफ्नै देशमा दुःख–सुख साट्ने र समाजका लागि फेरि केही गर्ने ठूलो सपना बोकेर फर्किए पनि दुई महिनाको प्रयासपछि निराश भएर पुनः विदेश फर्किनुपरेको उनको भनाइ छ।
उनले दुई महिनासम्म राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि आग्रह गरे पनि आफ्नो कुरा सुनुवाइ नभएको बताएका छन्। उनका अनुसार भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँको बजेटसमेत फ्रिज हुने अवस्था आएको छ।
‘१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,’ उनले लेखेका छन्।
१० वर्षसम्म समाज र राष्ट्रका लागि काम गर्दा पनि राज्यबाट सहयोग र न्याय नपाएको भन्दै कट्टेलले दुःख व्यक्त गरेका छन्।
तर, उनले भविष्यमा आफ्नो पीडा सुनुवाइ हुने र सत्य बाहिर आउने आशा अझै बाँकी रहेको बताएका छन्।
‘कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ र हाम्रो संघर्षको मूल्य बुझिनेछ,’ कट्टेलले लेखेका छन्।
उनले चाँडै फेरि आफ्ना शुभेच्छुकसँग भेट हुने आशा व्यक्त गर्दै सबैप्रति माया र सम्मानसमेत प्रकट गरेका छन्।