नुवाकोट — नेपालमा बेपत्ता भएका अमेरिकी नागरिकको खोजी तथा विपद् पीडितको पहिचानका लागि अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) ले नेपाल प्रहरीसँग सहकार्य गरिरहेको जनाएको छ।
अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र एफबीआईका सहायक कानून प्रवर्तन सहचारी राइली पाल्मर्ट्रीले आज नुवाकोट पुगेर नेपाल प्रहरीका अधिकारीहरूसँग भेट गरेका छन्। उनीहरूले बेपत्ता अमेरिकी नागरिकको खोजीमा भइरहेको समन्वयका लागि नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।
एफबीआईले विपद्का पीडितको पहिचान गर्न फोरेन्सिक तथा मानवीय विशेषज्ञता उपलब्ध गराइरहेको जनाएको छ। यसको उद्देश्य पीडितको पहिचान गर्न र आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवारलाई आवश्यक जवाफ उपलब्ध गराउनु रहेको अमेरिकी दूतावासले जनाएको छ।
कार्यवाहक राजदूत बोल्डिनले बाढी प्रभावितका लागि सञ्चालन गरिएको विस्थापित सहायता केन्द्र र मानवीय राहत सामग्री व्यवस्थापन केन्द्रको पनि भ्रमण गरेकी छन्। अमेरिकी सहयोगमा विश्व खाद्य कार्यक्रम (WFP) र क्याथोलिक रिलिफ सर्भिसेजमार्फत प्रभावित समुदायलाई खाद्यान्न, आश्रय, मनोसामाजिक सहयोग र आपत्कालीन राहत उपलब्ध गराइएको जनाइएको छ।
अमेरिकी दूतावासका अनुसार, नेपालको बाढी प्रतिकार्यका लागि अमेरिकाले हालसम्म ५० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ। सहयोगमा मानवीय राहत, विपद् प्रतिकार्य सामग्री, लजिस्टिक्स र फोरेन्सिक विशेषज्ञता लगायतका सामग्री तथा सेवा समावेश छन्