काठमाडौं — ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ‘XTreme Energy Drink दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ।
४५ वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुने प्रतियोगिता सेप्टेम्बर २३ देखि २७ सम्म काठमाडौंको लैनचौर फुटबल मैदानमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
खेलकुदमार्फत सक्रिय जीवनशैली प्रवर्द्धन गर्नुका साथै भेट्रान खेलाडीबीच आपसी मित्रता र सामुदायिक सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताले काठमाडौंको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको प्रायोजन XTreme Energy Drink ले गरेको छ भने व्यवस्थापन ठमेल XI ले गर्नेछ।
आयोजकले खेलप्रेमी, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई प्रतियोगितामा उपस्थित भएर खेलाडीको हौसला बढाउन आग्रह गरेको छ।
प्रतियोगिता: सेप्टेम्बर २३–२७, २०२६
स्थान: लैनचौर फुटबल मैदान
विजेता: रु. २ लाख
उपविजेता: रु. १ लाख