काठमाडौं । नेपाली सांगीतिक ब्याण्ड ‘मंगोलियन हार्ट’ आफ्नो तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ ।
फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत ब्याण्डले डेनमार्क, रोमानिया, पोर्चुगल र क्रोएसियामा लाइभ प्रस्तुति दिनेछ ।
ब्याण्डका अनुसार सेप्टेम्बर २४ मा नेपालबाट प्रस्थान गर्ने टोलीले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा प्रस्तुति दिनेछ ।
गायक राजु लामाका अनुसार भ्रमणबाट प्राप्त आम्दानीको केही हिस्सा रसुवा बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिनेछ । उनले संगीतसँगै विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने उद्देश्य पनि भ्रमणमा रहेको बताएका छन् ।
ब्याण्ड व्यवस्थापक बोबी लामाले युरोपमा रहेका नेपाली तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई नेपाली संगीतसँगै सामाजिक अभियानमा जोडिन आग्रह गरेका छन् ।