कोहलपुरमा पिटिएका स्वास्थ्यकर्मी हिरासतमै गम्भीर बिरामी

स्वास्थ्य

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अंगमा छोएको आरोपमा कुटिएका स्वास्थ्यकर्मी (सीएमए) गणेशबहादुर थापा प्रहरी हिरासतमै गम्भीर बिरामी परेका छन्।

६२ वर्षीय थापाको मुटुमा समस्या देखिएपछि उनलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा भर्ना गरी उपचार गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख शिवप्रसाद खत्रीका अनुसार सोमबार अचानक मुटुको चाल बढेपछि थापालाई अस्पताल लगिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसीयूबाट सामान्य वार्डमा सारिएको बताइएको छ।

प्रहरीका अनुसार थापालाई शनिबार हिरासतमा लिएर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। स्थानीयका अनुसार उनी यसअघि पनि उच्च रक्तचापको समस्याबाट पीडित थिए।

घटनाअनुसार असोज १७ गते पोलिक्लिनिकमा उपचार गराएर घर फर्किएकी युवती करिब आधा घण्टापछि अभिभावक र केही युट्युबरसहित पुनः पोलिक्लिनिक पुगेकी थिइन्। त्यसक्रममा स्वास्थ्यकर्मीले गोप्य अंगमा छोएको आरोप लगाउँदै उनीमाथि हातपात गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यस घटनामा युट्युबर हिमान्सु शाहीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ