त्रिभुवन विमानस्थलमा घूस लिएको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ

अपराध

Writing

काठमाडौं । वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने बहानामा रकम लिएको आरोपमा हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको जनाएको छ।

अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको थियो। पुनः श्रम स्वीकृति गराइदिने र यात्रामा सहजीकरण गरिदिने भन्दै रकम असुल गरेको आरोपमा जैशीविरुद्ध फोनमार्फत उजुरी परेको थियो।

उजुरीपछि गरिएको प्रारम्भिक छानबिनका क्रममा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ ट्रान्सफर भएको पाइएको अध्यागमनले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।