Writing
ब्रेन ह्यामरेजपछि किम जोङ उनको मृत्यु भएको हल्ला, उत्तर कोरियाले सार्वजनिक गर्यो नयाँ तस्बिर
उत्तर कोरियाली नेता किम जोङ उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको दाबी सामाजिक सञ्जालमा फैलिएपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेको छ। तर, उनको मृत्यु भएको दाबी पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन।
अमेरिकामा बस्ने चिनियाँ असन्तुष्ट नेता वानजुन सिएले सामाजिक सञ्जालमा किमलाई ब्रेन ह्यामरेज भएपछि कोमामा पुगेको र उपचारका क्रममा चीनको बेइजिङमा मृत्यु भएको दाबी गरेका थिए। उनले मृत्युको खबर लुकाइएको आरोपसमेत लगाएका थिए।
तर, दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार यी दाबी पुष्टि गर्ने प्रमाण प्रस्तुत गरिएको छैन। दक्षिण कोरियाली अधिकारीहरूले पनि यसबारे कुनै पुष्टि नभएको बताएका छन्।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अक्टोबर १९ मा किम जोङ उनले प्योङयाङमा आयोजित कपडा तथा जुत्ता प्रदर्शनीको भ्रमण गरेको जनाएको छ। अक्टोबर २० मा सार्वजनिक गरिएका तस्बिरमा उनी आफ्नी छोरीसँग प्रदर्शनी अवलोकन गरिरहेको देखिएका छन्।
यसअघि पनि लामो समय सार्वजनिक रूपमा नदेखिँदा किमको स्वास्थ्य र मृत्युबारे विभिन्न अड्कलबाजी हुने गरेका थिए। अहिले भने उनको मृत्यु भएको खबर पुष्टि भएको छैन।
स्रोत: योन्हाप समाचार संस्था, केबीएस वर्ल्ड।