काठमाडौं। समाजमा घट्ने वास्तविक घटना, मानवीय सम्बन्ध र जीवनका भावनात्मक उतारचढावलाई समेट्दै नयाँ नेपाली टेलिसिरियल ‘कथा अझै बाँकी छ’ दर्शकमाझ आएको छ। प्रकृति फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिरियलको पहिलो भाग यसै साता आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
समाजका विविध पक्षलाई कथात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको सिरियलले मानिसको जीवनमा आइपर्ने घटना, सम्बन्धमा आउने परिवर्तन र भावनात्मक परिस्थितिलाई उजागर गर्ने प्रयास गरेको छ। ‘एउटा कथा, केही सम्बन्ध र धेरै भावनाहरू… तर कथा अझै बाँकी छ’ भन्ने मूल भावले सिरियलले समेट्न खोजेका विषयवस्तुलाई प्रतिबिम्बित गरेको छ।
सिरियलको लेखन तथा निर्देशन प्रल्हाद खरेलले गरेका छन् भने दीपक खड्का निर्माता हुन्। यसमा सुनिल कटुवाल, राधा श्रेष्ठ, प्रल्हाद खरेल, जेबी डिसी, देव महर्जन, दिपमाला परियार, दिवाकर घिमिरे, रिता थापा, सुमित्रा श्रेष्ठ, सानु पाण्डे, निशा पन्थी, निर्मल साउद, रूपा मानन्धर, रश्मि गुरुङ, विपुल थापा, आशिष खत्री, आयान थापा, भुवन थापा र रोहन आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
सिरियलको शीर्ष गीत पनि प्रल्हाद खरेलले नै लेखेका हुन्। गीतमा बादल सेवा र सिद्धिका ढकालको स्वर रहेको छ भने संगीत बादल सेवाले दिएका छन्। राजु कार्कीले गीतको एरेन्ज गरेका छन् भने योगेन मुकारुङले मिक्सिङ गरेका छन्। पाश्र्व संगीतमा विकास चौधरी र विनोदकुमार भुजेलको योगदान रहेको छ।
प्राविधिक पक्षमा निरज कँडेलले डीओपीको जिम्मेवारी सम्हालेका छन्। क्यामेरा सहायकका रूपमा अनिल जीसी ‘बुलेट’ रहेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्। सहायक निर्देशक विपुल थापा हुन्। सम्पादन, कलर तथा डिजाइनको जिम्मेवारी प्रेम शर्मा पौडेलले सम्हालेका छन् भने शृङ्गारमा रूपा मानन्धर संलग्न छिन्।
नेपाली समाज र जनजीवनसँग जोडिएका कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने लक्ष्य लिएको प्रकृति फिल्म्सले सिरियलका आगामी भागमार्फत पनि दर्शकमाझ विविध कथावस्तु ल्याउने अपेक्षा गरेको छ। पहिलो भाग सार्वजनिक भएसँगै सिरियलले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।
‘कथा अझै बाँकी छ’ को पहिलो भाग प्रकृति फिल्म्सको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। सिरियलका आगामी भाग तथा नयाँ जानकारीका लागि निर्माण पक्षले दर्शकलाई च्यानलसँग जोडिन आग्रह गरेको छ।