नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा पछिल्लो समयमा व्यापक परिवर्तन आएको छ। विश्वव्यापी वित्तीय क्षेत्रमा प्रविधि र नवप्रवर्तनको विकाससँगै परम्परागत बैंकिङ प्रणाली तीव्र गतिमा डिजिटल प्रणालीमा रूपान्तरण भइरहेको छ। मोबाइल बैंकिङ, ई–वालेट तथा क्यूआर (QR) भुक्तानीजस्ता सेवाहरू ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएका छन्। तथापि, प्रविधिको वास्तविक सफलता भनेको यसले बैंकिङ सेवाको कार्यदक्षता कति वृद्धि गर्छ, गुणस्तरीय सेवा कति प्रदान गर्छ, वित्तीय पहुँच र ग्राहक सन्तुष्टि कति बढाउँछ भन्ने कुराबाट मापन गर्न सकिन्छ।
नेपाल राष्ट्र बैंक (NRB) द्वारा सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नेपालमा क्यूआरमा आधारित भुक्तानीको कारोबार तीव्र गतिमा वृद्धि भएको छ। वि.सं. २०८३ साल भदौ महिनाको समीक्षात्मक अवधिमा (सन् २०२६ को सेप्टेम्बर मध्य) करिब ७ करोड ५५ लाख ८० हजार क्यूआरमा आधारित भुक्तानी कारोबार भएका थिए भने अघिल्लो वर्ष सोही अवधिमा करिब ४ करोड १० लाख ९० हजार कारोबार भएका थिए। यसले करिब ८४ प्रतिशतको वृद्धि देखाउँछ। त्यसैगरी, मोबाइल बैंकिङ कारोबार ६ करोड २५ लाख ९० हजारबाट बढेर ८ करोड ११ लाख ९० हजार पुगेको छ। यस्तै, डिजिटल वालेटमार्फत हुने कारोबार ३ करोड ७९ लाखबाट बढेर ५ करोड १४ लाख ९० हजार पुगेको छ।
यी तथ्याङ्कहरूले डिजिटल वित्तीय सेवाहरूले आर्थिक गतिविधिमा अझ महत्वपूर्ण भूमिका खेल्न थालेको देखाउँछन्। क्यूआर भुक्तानी प्रणालीले खुद्रा व्यापार तथा सेवा क्षेत्रमा वस्तु तथा सेवाको भुक्तानी गर्ने परम्परागत तरिकामा परिवर्तन ल्याएको छ। यस प्रणालीले ग्राहक तथा व्यवसायीलाई नगद पैसाको प्रयोग नगरी डिजिटल माध्यमबाट वस्तु तथा सेवाको भुक्तानी गर्न सहज बनाएको छ। मोबाइल बैंकिङ तथा डिजिटल वालेटले रकम स्थानान्तरण गर्न, विभिन्न बिल भुक्तानी गर्न र वित्तीय सेवाहरूमा पहुँच प्राप्त गर्न सजिलो बनाएका छन्। यसले गर्दा यस्ता डिजिटल माध्यमहरूको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ।
१. डिजिटल नवप्रवर्तन: मोबाइल बैंकिङभन्दा परको अवधारणा
डिजिटल नवप्रवर्तन भन्नाले मोबाइल एप्लिकेसन वा अनलाइन बैंकिङ सेवा सञ्चालनमा ल्याउनु मात्र होइन, यसले समग्र वित्तीय संस्थाको सञ्चालन प्रणाली तथा कार्यशैलीमा परिवर्तन ल्याउने कुरालाई समेत जनाउँछ।
नेपाली बैंक तथा वित्तीय संस्थाहरूका लागि कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI), मेसिन लर्निङ (Machine Learning), बिग डाटा एनालिटिक्स (Big Data Analytics), क्लाउड कम्प्युटिङ (Cloud Computing) तथा ब्लकचेन (Blockchain) जस्ता आधुनिक प्रविधिहरूको उपयोग गर्ने प्रशस्त सम्भावना रहेका छन्।
कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट वित्तीय ठगी पहिचान गर्ने, ग्राहक सेवा सञ्चालन गर्ने तथा कर्जा जोखिम मूल्याङ्कन गर्ने कार्य स्वचालित बनाउन सकिन्छ। बिग डाटा एनालिटिक्सले वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकको व्यवहार र आवश्यकता बुझ्न, नयाँ कर्जा लगानीका अवसरहरू पहिचान गर्न तथा व्यक्तिगत आवश्यकताअनुसार वित्तीय उत्पादन र सेवाहरू उपलब्ध गराउन सहयोग पुर्याउँछ। त्यस्तै, क्लाउड कम्प्युटिङले संस्थाको प्रविधिगत क्षमता विस्तार, विभिन्न प्रणालीबीच एकीकरण तथा सञ्चालनमा लचकता प्रदान गर्न सक्छ।
नेपाली वित्तीय संस्थाहरूको आगामी चरण भनेको यी प्रविधिहरूलाई बैंकिङ सञ्चालन प्रणालीमा समावेश गर्नु हो। प्रतिस्पर्धी संस्थाहरूसँग प्रतिस्पर्धा गर्नकै लागि मात्र प्रविधिमा लगानी गर्नुको सट्टा संस्थाले सामना गरिरहेका वास्तविक समस्याहरू समाधान गर्ने उद्देश्यले प्रविधिमा लगानी गर्नुपर्छ। यसबाट ग्राहकले वास्तविक लाभ प्राप्त गर्न सक्छन्।
२. सञ्चालनगत दक्षता: प्रविधिलाई कार्यसम्पादनमा रूपान्तरण गर्ने प्रक्रिया
स्वचालन (Automation) मार्फत सञ्चालनगत दक्षता हासिल गर्न सकिन्छ। यसले कागजी काममा लाग्ने समय बचत गर्ने, दोहोरो कामको अन्त्य गर्ने, कारोबारलाई छिटो बनाउने तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सहयोग पुर्याउँछ।
डिजिटल प्रणालीको प्रयोगले कर्मचारीहरूलाई ग्राहकसँगको सम्बन्ध व्यवस्थापन, वित्तीय विश्लेषण तथा व्यवसाय विकासजस्ता बढी उत्पादनशील कार्यमा केन्द्रित हुन अवसर प्रदान गर्छ।
नेपालको बैंकिङ उद्योगको समग्र वित्तीय अवस्थाले पनि यसको महत्व स्पष्ट पार्छ। नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १३.९ प्रतिशतले वृद्धि भई सन् २०२६ जुलाई मध्यसम्ममा ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जा ६.५ प्रतिशतले वृद्धि भई ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
यसले बैंकिङ क्षेत्र निरन्तर विस्तार भइरहेको देखाउँछ। तथापि, निजी क्षेत्रमा प्रवाह भएको कर्जाको तुलनामा निक्षेपको वृद्धि दर उच्च रहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ सेप्टेम्बर मध्यसम्म वार्षिक आधारमा कुल निक्षेप १४.४ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ। यसले वित्तीय संस्थाहरूसँग उपलब्ध वित्तीय स्रोतसाधनको उपयोग कति प्रभावकारी रूपमा भइरहेको छ भन्ने महत्वपूर्ण प्रश्न उठाएको छ।
डिजिटल नवप्रवर्तनको माध्यमबाट कर्जा मूल्याङ्कन, ऋणीहरूको अनुगमन, जोखिम व्यवस्थापन तथा लगानीका अवसरहरू पहिचान गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ। तथापि, यसले मात्र कर्जाको न्यून माग, आर्थिक अनिश्चितता तथा कमजोर कर्जा निर्णयजस्ता समस्याहरू समाधान गर्न सक्दैन। त्यसैले प्रभावकारी व्यवस्थापन, जिम्मेवार कर्जा प्रवाह तथा सुशासन अत्यन्त आवश्यक हुन्छ।
३. ग्राहक केन्द्रित बैंकिङ: प्रतिस्पर्धात्मक लाभको नयाँ आधार
आधुनिक बैंकिङ प्रणाली क्रमशः ग्राहक केन्द्रित बन्दै गएको छ। ग्राहकहरूले सहज, भरपर्दो, सुरक्षित तथा सरल बैंकिङ सेवा अपेक्षा गर्छन्।
डिजिटल बैंकिङले ग्राहकको अनुभव सुधार गर्न धेरै अवसरहरू प्रदान गरेको छ। यसले ग्राहकलाई २४ सै घण्टा बैंकिङ सेवामा पहुँच, छिटो रकम स्थानान्तरण, सहज खाता व्यवस्थापन तथा व्यक्तिगत आवश्यकताअनुसार सेवा प्राप्त गर्ने सुविधा दिन्छ।
तथापि, प्रणालीमा बारम्बार समस्या आउनु, कारोबारमा ढिलाइ हुनु, प्राविधिक त्रुटिहरू देखिनु तथा ग्राहकका गुनासाहरूको उचित व्यवस्थापन नहुनुले ग्राहकको विश्वास गुम्न सक्छ। त्यसैले वित्तीय संस्थाहरूले भरपर्दो, प्रयोग गर्न सहज तथा पारदर्शी प्रणालीका साथै प्रभावकारी ग्राहक सहायता उपलब्ध गराउँदै उच्च गुणस्तरको सेवा प्रदान गर्ने लक्ष्य राख्नुपर्छ।
डिजिटल समावेशिता (Digital Inclusion) पनि उत्तिकै महत्वपूर्ण विषय हो। ग्रामीण क्षेत्रमा बसोबास गर्ने ग्राहकहरू, ज्येष्ठ नागरिक तथा प्रविधिबारे कम ज्ञान भएका व्यक्तिहरूलाई डिजिटल बैंकिङ प्रयोग गर्न कठिनाइ हुन सक्छ। त्यसैले प्रविधिको विकासबाट सबै ग्राहकले समान लाभ प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल सचेतना कार्यक्रम, प्रयोग गर्न सहज मोबाइल एप्लिकेसन तथा प्रभावकारी ग्राहक सहायता प्रणालीमा लगानी गर्नुपर्छ।
४. साइबर सुरक्षा तथा डिजिटल विश्वास: बेवास्ता गर्न नसकिने चुनौतीहरू
डिजिटल वित्तीय सेवाहरूको विस्तारसँगै साइबर सुरक्षासम्बन्धी जोखिमहरू पनि बढेका छन्। यसमा फिसिङ (Phishing), पहिचान चोरी (Identity Theft), अनधिकृत कारोबार तथा इन्टरनेटमार्फत हुने वित्तीय ठगीजस्ता जोखिमहरू समावेश छन्।
त्यसैले डिजिटल बैंकिङको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उपभोक्ताको विश्वास निर्माण गर्नु अत्यन्त आवश्यक हुन्छ।
वित्तीय संस्थाहरूले प्रमाणीकरण प्रणाली (Authentication), कारोबारको निगरानी, तथ्याङ्क संरक्षण तथा सूचना सुरक्षाजस्ता सुरक्षा संयन्त्रहरूलाई अझ सुदृढ बनाउनुपर्छ। साथै, नियमित रूपमा सुरक्षा प्रणालीको समीक्षा गर्ने, सम्भावित साइबर आक्रमणको अवस्थामा अपनाउनुपर्ने प्रतिकार्य योजना तयार गर्ने तथा प्राविधिक जोखिम व्यवस्थापनमा कर्मचारीहरूको भूमिका र जिम्मेवारीबारे स्पष्ट जानकारी गराउनुपर्छ।
नियमन तथा सुपरिवेक्षणको क्षेत्रमा नेपाल राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहेको छ। भुक्तानी प्रणाली तथा साइबर सुरक्षासम्बन्धी नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशनहरूले डिजिटल वित्तीय सेवाका लागि सुरक्षित आधार तयार गर्न सहयोग पुर्याएका छन्। तथापि, ती नियम तथा निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर लगानी, जवाफदेहिता तथा उपभोक्ता सचेतना आवश्यक हुन्छ।
५. आगामी कार्यदिशा: प्रविधि र रणनीतिक व्यवस्थापनको एकीकरण
नेपालका बैंक तथा वित्तीय संस्थाहरूले निम्न विषयहरूमा विशेष ध्यान दिन आवश्यक छ:
- सूचना प्रणाली तथा भुक्तानी प्रणालीको सुधार: विभिन्न प्रणालीहरूबीच पूर्ण एकीकरण हुने गरी सूचना प्रविधि तथा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ।
- कृत्रिम बुद्धिमत्ता तथा तथ्याङ्क विश्लेषणको प्रयोग: वित्तीय ठगी नियन्त्रण, कर्जा व्यवस्थापन तथा ग्राहक व्यवस्थापन प्रणालीमा क्रमशः AI र Data Analytics प्रविधि लागू गर्नुपर्छ। साथै, यी प्रविधिको प्रयोगमा उचित मानवीय निगरानी र नियन्त्रण सुनिश्चित गर्नुपर्छ।
- कर्मचारीको क्षमता विकास तथा तालिम: आधुनिक वित्तीय प्रविधिबारे ज्ञान र सीप भएका कर्मचारीबिना प्रविधिगत रूपान्तरण सफल हुन सक्दैन। त्यसैले कर्मचारीको सीप विकास तथा नियमित तालिममा लगानी गर्नुपर्छ।
- डिजिटल कार्यसम्पादनको मापन: कारोबार सम्पन्न हुन लाग्ने समय, प्रतिकारोबार लागत, प्रणाली सञ्चालनको उपलब्धता (Uptime), ग्राहक सन्तुष्टि, गुनासो समाधान गर्न लाग्ने समय तथा कर्मचारीको उत्पादकत्वजस्ता सूचकहरूका आधारमा डिजिटल कार्यसम्पादन मापन गर्नुपर्छ। यसले प्रविधिमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त भइरहेको छ वा छैन भन्ने कुरा व्यवस्थापकहरूलाई बुझ्न सहयोग गर्छ।
- समावेशी, सुरक्षित तथा ग्राहक केन्द्रित डिजिटल बैंकिङ: नेपालको भौगोलिक क्षेत्रअनुसार विभिन्न ग्राहक तथा व्यवसायहरूको आवश्यकता पूरा गर्ने गरी डिजिटल बैंकिङ रणनीति समावेशी, सुरक्षित तथा प्रभावकारी बनाउनुपर्छ।
तालिका १: नेपालमा डिजिटल बैंकिङ कारोबारको वृद्धि
वि.सं. २०८२ भदौ र वि.सं. २०८३ भदौ महिनाबीचको तुलना
कारोबारको संख्या: लाखमा
डिजिटल माध्यम २०८२ भदौ २०८३ भदौ वृद्धि
क्यूआर भुक्तानी ४१.०९ ७५.५८ ८४.०%
मोबाइल बैंकिङ ६२.५९ ८१.१९ २९.७%
डिजिटल वालेट ३७.९० ५१.४९ ३५.९%
स्रोत: नेपाल राष्ट्र बैंक, मासिक भुक्तानी प्रणाली सूचकांक, भदौ २०८३।
वृद्धिदर यस लेखमा प्रस्तुत तथ्याङ्कका आधारमा गणना गरिएको हो।
तालिका २: नेपालको वित्तीय क्षेत्रका प्रमुख सूचकहरू
सूचक आर्थिक वर्ष २०८२/८३ वृद्धिदर
कुल निक्षेप रु. ८२ खर्ब ७६ अर्ब ९३ करोड १३.९%
निजी क्षेत्रतर्फको कर्जा रु. ५८ खर्ब ५७ अर्ब ६ करोड ६.५%
स्रोत: नेपाल राष्ट्र बैंक, वार्षिक समष्टिगत आर्थिक तथा वित्तीय तथ्याङ्क, आर्थिक वर्ष २०८२/८३।
निष्कर्ष
नेपाली बैंकिङ उद्योगमा डिजिटल क्रान्ति भइरहेको छ। क्यूआर भुक्तानी, मोबाइल बैंकिङ तथा डिजिटल वालेटको तीव्र वृद्धिले ग्राहकहरू डिजिटल वित्तीय सेवाप्रति आकर्षित हुँदै गएको र त्यसलाई आफ्नो दैनिक आर्थिक कारोबारमा अपनाउँदै गएको स्पष्ट देखाउँछ।
तथापि, भविष्यमा नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई प्रतिस्पर्धी र सबल बनाइराख्न डिजिटल प्रविधिको यो वृद्धिलाई संस्थागत सञ्चालन सुधार, ग्राहकसँगको सम्बन्ध सुदृढीकरण तथा संस्थाको समग्र विकासमा उपयोग गर्न सक्नुपर्छ।
बैंकिङ क्षेत्रको वास्तविक रूपान्तरणका लागि स्मार्ट वित्तीय सेवा, प्रभावकारी व्यवस्थापन, जिम्मेवार नवप्रवर्तन तथा ग्राहक केन्द्रित सेवामा विशेष ध्यान दिन आवश्यक छ।
यसबाट हामीले केवल डिजिटल सेवा मात्र नभई प्रभावकारी, समावेशी, सुरक्षित तथा ग्राहकका आवश्यकता र अपेक्षाप्रति उत्तरदायी वित्तीय सेवा प्रणालीको विकास गर्न सक्नेछौँ।
लेखक: श्री प्रसन्न जङ्ग कार्की