काठमाडौं।चलचित्र विकास बोर्ड ले नेपाली चलचित्रको इतिहास, कला र प्रविधिको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यसहित ‘नेपाली चलचित्र सङ्ग्रहालय’ को औपचारिक शुभारम्भ गरेको छ। नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक मानिएको यो पहल मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत ले सङ्ग्रहालयको उद्घाटन गरिन्। कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बोर्डका अध्यक्ष दिनेश डिसी ले सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको ‘आत्मा जोगाउने अभियान’ का रूपमा व्याख्या गरे। उनका अनुसार चलचित्रको इतिहासलाई केवल स्मृतिमा सीमित नराखी संस्थागत रूपमा सुरक्षित राख्न यो कदम चालिएको हो। साथै, आगामी दिनमा सङ्ग्रहालयलाई डिजिटल प्रणालीसँग आबद्ध गरी विद्यार्थी, अनुसन्धानकर्ता तथा चलचित्रप्रेमीहरूका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।
सङ्ग्रहालयलाई समृद्ध बनाउन चलचित्र क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तित्व तथा संस्थाहरूले ऐतिहासिक सामग्री उपलब्ध गराएका छन्। सिने फोकस प्रा.लि.का रजत बुढाथोकीले रेड क्यामेरा प्रदान गरेका छन् भने क्लासिक सिने युनिभर्सका दिनेश महराले सोनी EX-3 क्यामेरा हस्तान्तरण गरेका छन्। त्यसैगरी वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ र गौरीशंकर धुँजुले पुरानो ऐतिहासिक क्यामेरा र ट्राइपोड उपलब्ध गराएका छन्।
वरिष्ठ सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ–१० क्यामेरा, सोनी कलर मोनिटर, क्यासेट टेप तथा अडियो मिक्सरलगायत उपकरणहरू सङ्ग्रहालयलाई हस्तान्तरण गरेका छन्। बोर्डले यी सामग्रीहरूलाई व्यवस्थित रूपमा संरक्षण गर्दै भावी पुस्ताका लागि अध्ययन र अनुसन्धानको आधार बनाउने जनाएको छ।