संसद प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय, १६६ विधेयक अघि बढाउने तयारी : रास्वपा सचेतक धिताल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले संसदलाई थप प्रभावकारी बनाउँदै सरकारका प्राथमिकताका विधेयकहरू अघि बढाउने तयारी भइरहेको बताएकी छन्। सरकारले संसदमा प्रस्तुत गर्न १६६ वटा विधेयकको सूची तयार पारेको भन्दै आगामी बैठकहरू व्यस्त रहने उनले संकेत गरिन्।

मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै धितालले लामो समयसम्म निरन्तर सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो निर्वाचन क्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्न नपाएको तथा संसदमा उपस्थितिमा पनि केही शिथिलता देखिएकाले दुई साताको विश्राम दिइएको स्पष्ट पारिन्।

उनका अनुसार आगामी अधिवेशनबाट संसदको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ। सरकारले दर्ता गर्ने तयारीमा रहेका १६६ विधेयकले संसदलाई पर्याप्त कार्यभार प्रदान गर्ने उनले बताइन्।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिलगायत विषयमा उठाइरहेका प्रश्नबारे टिप्पणी गर्दै धितालले संसदीय अभ्यास निरन्तर सिक्दै र सुधार्दै जाने प्रक्रिया भएको बताइन्। उनले पुराना अभ्यासलाई सुधार गर्दै सकारात्मक संसदीय परम्परा स्थापित गर्ने प्रयास जारी रहेको उल्लेख गरिन्।

“सरकारले धेरै विधेयक ल्याउने तयारी गरिरहेको छ। त्यसले संसदको व्यस्तता बढ्नेछ। हामी नयाँ अभ्यासलाई संस्थागत गर्ने क्रममा छौं, त्यसैले केही कमजोरी देखिन सक्छन्। ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ,” उनले भनिन्।

सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको उल्लेख गर्दै धितालले आगामी केही दिनभित्र सहमति जुट्ने विश्वास व्यक्त गरिन्। प्रतिपक्षलाई समेत विश्वासमा लिएर संसदलाई प्रभावकारी र सहकार्यको थलो बनाउने प्रयास जारी रहेको उनको भनाइ छ।