देशभित्रै अर्गानिक उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन

राजनीति

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण (सर्टिफिकेसन) गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्गानिक कृषि व्यवसायीहरूको छाता संस्था अर्गानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्।

छलफलका क्रममा व्यवसायीहरूले विदेशबाट अर्गानिक उत्पादनको प्रमाणीकरण गराउँदा धेरै खर्च लाग्ने भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसमा प्रधानमन्त्री शाहले आवश्यक प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

व्यवसायीहरूले अर्गानिक उत्पादनको प्रमाणीकरणमा सरकारले दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएकाले पुनः सञ्चालन गर्न पनि माग गरेका थिए। प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण प्रणाली स्थापना नभएसम्म अनुदानलाई निरन्तरता दिने विषयमा सकारात्मक रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोग नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत र व्यावहारिक कदम चाल्ने पनि बताएका छन्।

छलफलमा अर्गानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्यलगायत सहभागी थिए।