लघुवित्त पीडितको काठमाडौं केन्द्रित आन्दोलन सुरु, माइतीघरमा प्रदर्शन

बिजनेस

काठमाडौं — लघुवित्तबाट लिएको कर्जा खारेज, चर्को ब्याज तथा जरिवाना मिनाहा र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले आइतबार माइतीघर मण्डलासहित विभिन्न स्थानमा प्रदर्शन गर्दै सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्।

आन्दोलनकारीहरूले लघुवित्त संस्थाहरूले चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भार थोपरेर हजारौं परिवारलाई समस्यामा पारेको आरोप लगाएका छन्। साथै, असुली प्रक्रियामा कर्मचारीबाट मानसिक दुःख र दबाब झेल्नुपरेको उनीहरूको गुनासो छ।

पीडितहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि मागहरू सम्बोधन नभएको भन्दै अब आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा केही समय नाराबाजी भएको थियो भने सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो। आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।