काठमाडौं, साउन ११ — चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभिन्न सुधारका माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन तोडेका छन्।
बिहीबारदेखि सुरु भएको अनशन अन्त्य गर्न सरकारको वार्ता टोली शनिबार धनगढी पुगेको थियो। लामो छलफलपछि दुवै पक्षबीच सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।
डा. केसीले सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर अनशन तोडे। धामी ८ वर्षीय बिरामी सुदीप कोइरालाका भिनाजु हुन्।
सरकार र डा. केसी पक्षबीच भएका सहमतिका बुँदाहरू सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ। डा. केसीले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न मागहरू पूरा गर्न दबाबस्वरूप अनशन सुरु गरेका थिए।