करदाता प्रोत्साहन उपहार कार्यक्रममा १५ दिनमै झण्डै ११ लाख योग्य कारोबार, बिल अपलोड गर्न विभागको आग्रह

बिजनेस

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुने योग्य कारोबारको संख्या साउन १५ सम्म झण्डै ११ लाख पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्नसम्म १० लाख ८२ हजार ६२२ वटा कारोबार तथा बिल उपहार कार्यक्रमका लागि योग्य भएका छन्।

विभागका अनुसार तीमध्ये १० लाख ७४ हजार ७९६ वटा कारोबार क्यूआरमार्फत भएका हुन् भने ३ हजार ४२७ वटा नगद कारोबारका भौतिक बिल उपभोक्ताले प्रणालीमा अपलोड गरेका छन्।

विभागले साउन १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जनालाई दैनिक १/१ लाख रुपैयाँएक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने तयारी गरेको छ। प्राविधिक कारणले केही ढिलाइ भए पनि उपहार विजेताको घोषणा छिट्टै गरिने विभागले जनाएको छ।

यस्तै, उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारको भौतिक बिल करदाता प्रोत्साहन पोर्टलमा अपलोड गर्न विभागले सबै उपभोक्तासँग आग्रह गरेको छ।

सरकारले चालु आर्थिक वर्षदेखि सुरु गरेको यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी वैध बिल लिने उपभोक्ता उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। बम्पर पुरस्कारमा प्राप्त १० लाख रुपैयाँमा भने प्रचलित कानुनअनुसार कर कट्टी हुनेछ।