म्यान्मामा विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण, २१ जनाको मृत्यु

विश्व समाचार

म्यान्मामा विवाह समारोह भइरहेको घरलाई लक्षित गरी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था AFP का अनुसार म्यान्माको मोए बाय क्षेत्रमा द्वन्द्वका कारण विस्थापित भएका दुई जनाको विवाह समारोह भइरहेको घरमा सैन्य हवाई आक्रमण भएको थियो। घटनामा मृत्यु हुनेमध्ये पाँच जना बालबालिका रहेको उद्धारकर्मीहरूले बताएका छन्।

आक्रमणपछि घाइतेहरूको उद्धार भइरहेको बेला पुनः बम खसालिएको उद्धारकार्यमा संलग्न एक व्यक्तिले बताएका छन्।

म्यान्मामा सन् २०२१ मा सैनिक ‘कू’ भएपछि जारी गृहयुद्धका क्रममा सर्वसाधारणसमेत प्रभावित हुँदै आएका छन्।