डब्लुडब्लुईका स्टार ब्रोक लेसनरले २६ वर्षपछि सन्यास घोषणा

खेलकुद

डब्लुडब्लुई (WWE) का चर्चित रेस्लिङ स्टार ब्रोक लेसनरले २६ वर्ष लामो रेस्लिङ करिअरपछि आधिकारिक रूपमा सन्यास घोषणा गरेका छन्।

४९ वर्षीय लेसनरले गत सप्ताहन्त भएको समरस्लाममा ओबा फेमीसँग हेल इन अ सेल खेलमा पराजित भएका थिए। त्यसपछि अगस्ट ४ मा प्रसारित द प्याट म्याकाफी शोमा उनले समरस्लाम नै आफ्नो अन्तिम डब्लुडब्लुई खेल भएको बताए।

लेसनरले अब रिङमा नफर्किने घोषणा गर्दै आफ्नो रेस्लिङ यात्राको अन्त्य भएको स्पष्ट पारे।

डब्लुडब्लुईका सबैभन्दा सफल सुपरस्टारमध्ये एक मानिने लेसनरले आफ्नो करिअरमा धेरै पटक विश्व च्याम्पियन बन्न सफल भएका छन्। उनी यूएफसी (UFC) हेभीवेट च्याम्पियनसमेत बनेका थिए।

उनको सन्याससँगै डब्लुडब्लुईको एक सफल युगको अन्त्य भएको भन्दै विश्वभरका रेस्लिङ समर्थकहरूले उनलाई बधाई र शुभकामना दिएका छन्।