कप्तान दीपक मनाङेको नेतृत्वमा ठमेल भेट्रान ११ को शानदार जित, मनाङ Gen Z FC ५–२ ले पराजित
काठमाडौं । लैनचौरस्थित एनसेल मैदानमा आइतबार भएको मैत्रीपूर्ण फुटबल खेलमा कप्तान राजीव गुरुङ ‘दीपक मनाङे’ सम्मिलित ठमेल भेट्रान ११ ले Gen Z टिममाथि शानदार जित हात पारेको छ। ठमेल भेट्रान ११ ले मनाङ Gen Z FC लाई ५–२ गोलअन्तरले पराजित गरेको हो।
खेलमा पूर्वगण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ठमेल भेट्रान ११ को कप्तानका रूपमा मैदानमा उत्रिएका थिए। उनको सहभागिताले खेललाई थप रोचक र आकर्षक बनाएको थियो।
खेलको सुरुदेखि नै ठमेल भेट्रान ११ ले आक्रामक शैली अपनाउँदै मनाङ Gen Z FC माथि दबाब बनाएको थियो। उत्कृष्ट तालमेल र आक्रमणका कारण ठमेलले पाँच गोल गर्न सफल भयो भने मनाङGen Z FCले दुई गोल फर्काएको थियो।

अन्ततः ठमेल भेट्रान ११ ले ५–२ को प्रभावशाली जित दर्ता गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
मैत्रीपूर्ण खेलपछि सहभागीहरूले खेलकुद केवल प्रतिस्पर्धाका लागि मात्र नभई स्वस्थ, सक्रिय र अनुशासित जीवनशैलीका लागि पनि महत्वपूर्ण रहेको बताएका थिए। युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा विभिन्न पुस्ताबीचको सम्बन्धलाई खेलमार्फत थप मजबुत बनाउने उद्देश्यले खेल आयोजना गरिएको बताइएको छ।

ठमेल भेट्रानका अध्यक्ष बाब्लु रञ्जितका अनुसार युवालाई प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। भेट्रान खेलाडी र नयाँ पुस्ताका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत खेलकुदको वातावरणलाई थप सक्रिय बनाउने प्रयास गरिएको उनले बताए।
यसैबीच, ठमेल भेट्रानले आगामी महिना २० टोलीको सहभागितामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। प्रतियोगिताले पूर्वखेलाडी तथा फुटबलप्रेमीहरूलाई पुनः मैदानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
