बैंकक । थाइल्यान्डमा १४ वर्षीय किशोरले बन्दुक चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये आक्रमणकारी किशोर स्वयं पनि रहेका छन्।
राजधानी बैंककनजिकैको नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार किशोरले गोली चलाउँदा पाँच जना विद्यालयका कर्मचारीको मृत्यु भएको थियो। त्यसअघि उनले आफ्नै घरमा हजुरबा–हजुरआमालाई गोली हानेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट २० जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार किशोरले प्रयोग गरेको बन्दुक उनका हजुरबाको नाममा कानुनी रूपमा दर्ता भएको थियो। विद्यालयमा गोली चलाएपछि किशोरले आफैंलाई गोली हानेका थिए र उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाको वास्तविक उद्देश्यबारे अनुसन्धान जारी छ।
घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नवीराकुलले देशमा बन्दुक नियन्त्रणसम्बन्धी कानुन थप कडा बनाउने घोषणा गरेका छन्। प्रस्तावित व्यवस्थाअनुसार सार्वजनिक रूपमा बन्दुक बोक्ने अधिकारलाई निकै सीमित गर्दै ड्युटीमा रहेका सरकारी अधिकारीलाई मात्र बन्दुक बोक्न अनुमति दिने तयारी गरिएको छ।
थाइल्यान्डमा नागरिकको हातमा ठूलो संख्यामा बन्दुक रहेको भन्दै लामो समयदेखि कडा नियमनको माग हुँदै आएको छ। पछिल्लो घटनाले विद्यालय सुरक्षा र बन्दुक नियन्त्रणसम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।