काठमाडौं । आज बुधबार, १२ अगस्ट २०२६ मा यस वर्षको प्रमुख खगोलीय घटनामध्ये एक पूर्ण (खग्रास) सूर्यग्रहण हुँदैछ। चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको चम्किलो भागलाई पूर्ण रूपमा ढाक्ने यो दुर्लभ घटना उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक हुँदै स्पेन र पोर्चुगलको सानो भूभागमा पूर्ण रूपमा देखिनेछ।
तर नेपालबाट भने यो सूर्यग्रहण देखिने छैन। नेपालसहित एसियाका अधिकांश भूभाग पूर्ण ग्रहणको प्रत्यक्ष दृश्य क्षेत्रभन्दा बाहिर छन्।
NASA का अनुसार पूर्ण ग्रहणको मार्ग निकै साँघुरो हुन्छ। अधिकांश स्थानमा सूर्य पूर्ण रूपमा ढाकिने अवधि दुई मिनेटभन्दा कम रहनेछ। ग्रहणको केन्द्रनजिक पर्ने ग्रिनल्यान्ड, उत्तरी रुस तथा उत्तर एटलान्टिकका केही क्षेत्रमा पूर्णताको अवधि दुई मिनेटभन्दा केही बढी भए पनि साढे दुई मिनेटभन्दा कम रहनेछ।
कहाँ देखिन्छ पूर्ण ग्रहण?
आइसल्यान्डको राजधानी रेक्जाभिकमा स्थानीय समयअनुसार साँझ ५:४८ देखि ५:४९ बजेसम्म पूर्ण ग्रहण देखिनेछ। स्पेनको लियोनमा ८:२८ देखि ८:३० बजेसम्म, जारागोजामा ८:२९ देखि ८:३० बजेसम्म र भ्यालेन्सियामा ८:३२ देखि ८:३३ बजेसम्म पूर्ण ग्रहण देखिने NASA ले जनाएको छ।
पूर्ण ग्रहणको मार्गभन्दा बाहिरका धेरै स्थानमा भने आंशिक सूर्यग्रहण देखिनेछ। उदाहरणका लागि बार्सिलोना र म्याड्रिडमा सूर्यको करिब ९९ प्रतिशत, पेरिसमा ९२ प्रतिशत र लन्डनमा ९१ प्रतिशतसम्म भाग चन्द्रमाले ढाक्नेछ।
नेपालबाट किन देखिँदैन?
सूर्यग्रहणको समयमा चन्द्रमाले आफ्नो छायाँ पृथ्वीमा पार्छ। चन्द्रमाको पूर्ण छाया पर्ने साँघुरो क्षेत्रमा मात्र खग्रास सूर्यग्रहण देखिन्छ भने बाहिरी छायाँ पर्ने क्षेत्रमा आंशिक ग्रहण देखिन्छ। यसपटक पूर्ण छायाको मार्ग नेपालसम्म नआउने भएकाले नेपाली आकाशबाट ग्रहण देखिने छैन।
खग्रास सूर्यग्रहणका क्रममा सूर्यको चम्किलो सतह पूर्ण रूपमा ढाकिँदा केही क्षणका लागि दिनमै अँध्यारो जस्तो वातावरण बन्न सक्छ र सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ समेत देख्न सकिन्छ। यही कारण वैज्ञानिकहरूका लागि पनि पूर्ण सूर्यग्रहण महत्वपूर्ण हुन्छ।
आँखाको सुरक्षामा विशेष सावधानी
आंशिक ग्रहणका बेला नाङ्गो आँखाले सूर्य हेर्नु हुँदैन। प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ। साधारण सनग्लासले आँखालाई सुरक्षित राख्दैन।
NASA का अनुसार सूर्यको चम्किलो सतह पूर्ण रूपमा ढाकिएको पूर्णताको छोटो चरणमा मात्र विशेष सुरक्षा बिना प्रत्यक्ष हेर्न सकिन्छ। पूर्णता सुरु हुनुअघि र समाप्त भएपछि भने फेरि सौर्य सुरक्षा अनिवार्य हुन्छ।
नेपालबाट प्रत्यक्ष ग्रहण नदेखिए पनि विभिन्न खगोलीय संस्था तथा NASA का अनलाइन प्रसारणमार्फत विश्वका विभिन्न स्थानबाट खिचिएका दृश्य हेर्न सकिनेछ।
अब अर्को पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ, जुन दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरेबिया र यमनलगायत क्षेत्रमा देखिने NASA ले जनाएको छ।