काठमाडौं — भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। उनीहरूले बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र तत्काल राहतलाई प्राथमिकता दिएको बताएका छन्। उनले बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि बोलाएर बाढी प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
सरकारले प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ।