गोरखा । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचार भ्रामक रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले स्पष्ट पारेको छ।
कार्यालयले कात्तिक १४ र १५ गते गृहमन्त्री गुरुङको दुईदिने जिल्ला भ्रमण शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ। भ्रमणका क्रममा जिल्लामा त्यस्तो कुनै प्रदर्शन नभएको प्रशासनको भनाइ छ।
प्रदर्शन भएको दाबीसहित जिल्लामा खिचिएको भन्दै अवास्तविक भिडियोसमेत सामाजिक सञ्जालमा प्रसारण गरिएको भन्दै प्रशासनले आपत्ति जनाएको छ।
यस्ता समाचार तथा भिडियोहरू भ्रामक, कपोलकल्पित र आधारहीन रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिएका सूचनाको सत्यतथ्य जाँच गरेर मात्र विश्वास गर्न र सम्प्रेषण गर्न आग्रह गरेको छ।